तीतो-मीठो भोगाई,
जसोतसो जीवन,
हस्याङ्-फस्याङको गन्तव्य,
अनि टालटुले मन ।
जन्मँदै लिएर आएको बानी;
सपना देख्न कहिल्यै छुटेन ।
सम्बन्धलाई थाँती राखेर,
सम्झौतालाई माथि राखेर,
सपनाको पछिपछि धेरै दौडिएँ ;
अझै दौडिरहेछु !
खुशाउनुपर्ने मनहरू धेरै रिसाए,
बुझाउनुपर्ने मनहरू धेरै बाङ्गिए ।
मनाउन नखोजेको हैन, बुझाउन नखोजेको हैन;
सपना, समय र सम्झौतासँगको सहयात्रामा,
कति सम्बन्धहरू बनाउँदा-बनाउँदै भत्किए,
कति नचाहँदा-नचाहँदै बनिदिए ।
आजको असफलतालाई गार्बेज क्यानमा फाली,
भोलिको सफलताको सपना पाली,
'होला कि"को सुपर ग्लुले
धेरैपल्ट टुक्रिएको यो मनलाई टाली,
सपना र सम्झौतालाई अँगालो हाली,
अझै दौडिरहेछु !
म हरेक दिन नयाँ सपना देखिरहेछु,सम्बन्धलाई थाँती राखेर,सम्झौतालाई माथि राखेर,म सपनाको पछिपछि दौडिरहेछु !