Thursday, October 25, 2012

सपना


तीतो-मीठो भोगाई,
जसोतसो जीवन,
हस्याङ्-फस्याङको गन्तव्य,
अनि टालटुले मन ।

जन्मँदै लिएर आएको बानी;
सपना देख्न कहिल्यै छुटेन ।
सम्बन्धलाई थाँती  राखेर,
सम्झौतालाई माथि राखेर,
सपनाको पछिपछि धेरै दौडिएँ ;
अझै दौडिरहेछु !

खुशाउनुपर्ने मनहरू धेरै रिसाए,
बुझाउनुपर्ने मनहरू धेरै बाङ्गिए ।

मनाउन नखोजेको हैन, बुझाउन नखोजेको हैन;
सपना, समय र सम्झौतासँगको सहयात्रामा,
कति सम्बन्धहरू बनाउँदा-बनाउँदै  भत्किए,
कति नचाहँदा-नचाहँदै बनिदिए ।

आजको असफलतालाई गार्बेज क्यानमा फाली,
भोलिको सफलताको सपना पाली,
'होला कि"को सुपर ग्लुले
धेरैपल्ट टुक्रिएको यो मनलाई टाली,
सपना र सम्झौतालाई अँगालो हाली,
अझै दौडिरहेछु !

म हरेक दिन नयाँ सपना देखिरहेछु,
सम्बन्धलाई थाँती राखेर,
सम्झौतालाई माथि राखेर,
म सपनाको पछिपछि दौडिरहेछु !

Thursday, October 20, 2011

द्विविधा

पढाई ,
गुनाइ ,
कमाइ ,
धन ,
ज्ञान ,
ज्यान,
मन ,
नाम,
शान ,
घर ,
परिवार ,
नाता ,
रगत ,
साथीभाइ,
सम्बन्ध ,
देश ,
भाषा,
भेष ,
चलन,
शैली,
आफु ,
अरु ,
आदि-इत्यादि!

कसलाई,
कति प्राथमिकतामा
राख्ने हो ?

Tuesday, October 11, 2011

आन्दोलनका सपनाहरु


देशको यो अवस्थामा,
एकछिन तातो रिस उठ्छ, रगत तात्छ,
इच्छा जाग्छ, म पनि आन्दोलनमा जाउँ ,
परिवर्तन ल्याउन पाउँ,
तर आवेगमा जे पनि हुन सक्छ,
सास र गाँसको खती हुन सक्छ,
सोच्यो, यसले के नै हुन्छ र?
तोड्फोड गर्यो, मारमुर गर्यो,
एकछिनलाई त रिस मरी दिन्छ,
तर फोडिएका र तोडिएकालाई जोड्न
त्यै नेपालीको सास खोस्नु पर्छ,
त्यै नेपालीको गाँस खोस्नु पर्छ,
त्यै नेपालीको बास खोस्नु पर्छ,
यै गाँस बास र कपासको नाममा
फेरी अर्को आन्दोलनको पट्टाक्षेप हुन्छ,
क्रान्ति-प्रतिक्रान्तिको श्रीङ्खला चल्छ,
सिद्धान्तको अगाडी यहाँ
मान्छेको मुल्य हुदैन,
भोकको अगाडी यहाँ
शोकको मुल्य हुदैन
मलाई खाने बाघले
भोलि तँलाई नी खान सक्छ,
मृत्‍युको ब्यापारीले
यहाँ अड्डा गाड्न सक्छ!

आवेगमा म आफु अगाडीको टेबुल ठोक्छु,
आफु बसेको मेचलाई लात्ताले हान्छु,
हातभरी घाउ, खुट्टामा गाढा चोट लाग्छ,
पीडाले रिस अलि शान्त हुन्छ,
यो चरणको आन्दोलन यहीं सकिन्छ

आफ्नो ख्याल गर्नै पर्यो,
अरुको जिम्मा लिन सकिन्न,
फेरि, यो देशमा, 
गरे नी अपजस्, नगरे नी अपजस
रगत उम्लदैं गर्छ, सेलाउंदै गर्छ,
आन्दोलनका सपनाहरु,
आउंदै-जांदै गर्छन्।

Sunday, September 19, 2010

पर्खाइ

समयको यो सीमासम्म,
जीवन कुरेर नै बित्यो;
जन्मने बितिक्कै
बा-आमाको न्यानो माया,
हुर्कदै जांदा
पापा, चाचा,नाना,
अलि पछि राम्रा बस्तु, मीठा खाना,
सफलता, स्याबासी, अनि हुर्कदो आवश्यकता
शराब, शवाब र उनको जवाफ
राम्रो काम, पैसा अनि रवाफ
नाम, शान, मान-मनिता
आदि-ईत्यादि मौका र चौका।

कति पाइयो, कति बिराइयो !

जीवनको गति बढ्दो छ,
पर्खाइको क्रम बढ्दो छ,
र मात्रा पनि !

मेरो भोगाइमा,
जीवन पर्खाइ बनेको छ,
मेरो बुझाईमा,
जीवन पर्खाइ हो,
अन्त्यहीन पर्खाइ !

म,
यो मोडमा अझै पनि,
पर्खिरहेछु,

मेरो पर्खाइको मात्रा र गति
कम हुने आशामा !